२१औँ जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस आँधीखोलामा सम्पन्न

स्याङ्जा । २१औँ जातीय विभेद तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा मुक्तिसमाज नेपाल स्याङ्जाको आयोजनामा आँधीखोला गाउँपालिकामा विशेष कार्यक्रम सम्पन्न भएको छ। दिवसको अवसर पारेर यस वर्ष एसईई परीक्षा दिएका दलित समुदायका विद्यार्थीहरूलाई सम्मान गरिएको थियो।
कार्यक्रमका अध्यक्ष तथा मुक्तिसमाज नेपाल स्याङ्जाका अध्यक्ष मेख प्रनेस ले जातीय विभेदमुक्त समाज निर्माणका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले कानुनी रूपमा छुवाछुत अन्त्य भए पनि व्यवहारमा अझै केही स्थानमा विभेदका घटना देखिने भएकाले सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि तथा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल ले जातीय विभेद र छुवाछुत मानवताविरुद्धको कार्य भएको उल्लेख गर्दै यसको अन्त्यका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो। उहाँले शिक्षा र चेतनाको माध्यमबाट मात्रै समतामूलक समाज निर्माण सम्भव हुने भन्दै सम्मानित विद्यार्थीहरूलाई अध्ययनमा थप मेहनत गर्न प्रेरणा दिनुभयो। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सीता थापा, वडा नं. ४ का वडा अध्यक्ष सिंहबहादुर क्षेत्री, मुक्तिसमाजका केन्द्रीय सदस्य अमृत नेपाली, डी.बी. परियार लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले जातीय विभेदको अन्त्यका लागि सामाजिक सोच र व्यवहारमा परिवर्तन आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रमको प्रारम्भमा मुक्तिसमाज स्याङ्जाकी उपाध्यक्ष पूर्णिमा परियार ले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन मुक्तिसमाज स्याङ्जाका सचिव सुवास खाती ले गर्नुभएको थियो। दिवसका अवसरमा एसईई दिएका दलित विद्यार्थीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा सहभागीहरूले जातीय विभेद तथा छुवाछुतका घटनाहरू दोहोरिन नदिन सबैले आ-आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरेका थिए।
कार्यक्रम सामाजिक सद्भाव, समानता र मानव अधिकारको सन्देश प्रवाह गर्दै भव्य रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।
सम्बन्धित समाचार

कृषि प्रणालीको नमुना बन्दै फेदीखोला..सफ्टवेयर उद्घाटनसँगै प्रथम मौरी दिवस भव्य रूपमा सम्पन्न

गल्याङमा कृषि बजार केन्द्र सञ्चालन, कृषकमा उत्साह

व्यवसायिक सफलताको खोजीमा दुई भाइको गन्तव्य : स्याङ्जाको वालिङमा सञ्चालनमा आयो स्केट सिटी हल
