गण्डकी

शैक्षिक सामग्री वितरण तथा असल अभिभावक शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न

गोपाल अधिकारीसमाचार रिपोर्टर
२२ जेठ २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
शैक्षिक सामग्री वितरण तथा असल अभिभावक शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्याङ्जाको गल्याङ नगरपालिका–११ स्थित श्री सिर्जनशील जनभावना सामुदायिक सिकाइ केन्द्रको आयोजनामा तारादेवी आधारभूत विद्यालय तथा बालज्योति आधारभूत विद्यालयका ४५ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण तथा असल अभिभावक शिक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

केन्द्रका अध्यक्ष राजेन्द्रदेव खनालको अध्यक्षता तथा वडा नं. ११ का वडा अध्यक्ष दलबहादुर सिंजालीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा करिब ६५ जना अभिभावकको सहभागिता रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई कापी, कलम लगायत आवश्यक शैक्षिक सामग्री वितरण गरिएको थियो। साथै बालबालिकाको सर्वाङ्गीण विकासमा अभिभावकको भूमिका, घरमा सिकाइमैत्री वातावरण निर्माण, अनुशासन, सकारात्मक सोच तथा जिम्मेवार अभिभावकत्वका विषयमा अभिमुखीकरण प्रदान गरिएको थियो।

कार्यक्रममा दुवै विद्यालयका प्रधानाध्यापकहरूले सिकाइ केन्द्रले सञ्चालन गरेका यस्ता कार्यक्रमले विद्यार्थीहरूको अध्ययनप्रति उत्साह बढाउनुका साथै अभिभावकलाई आफ्नो जिम्मेवारीबारे थप सचेत बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। कार्यक्रमको सञ्चालन लिलाबल्लभ अर्यालले गर्नुभएको थियो भने स्वागत मन्तव्य सहसचिव यज्ञप्रसाद अर्यालले व्यक्त गर्नुभएको थियो।

सामुदायिक सिकाइ केन्द्रले शिक्षा, चेतना, साक्षरता तथा सामाजिक उत्तरदायित्वको विकासका लागि समुदायस्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। केन्द्रले आगामी दिनमा पनि विद्यार्थी, अभिभावक र विद्यालयबीचको सहकार्यलाई सुदृढ बनाउने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

गोपाल अधिकारीसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।