गण्डकी

राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाको प्रथम जिल्ला अधिवेशन सम्पन्न, रुक्मागत भण्डारी सभापतिमा निर्वाचित

गोपाल अधिकारीसमाचार रिपोर्टर
२४ जेठ २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
राष्ट्रिय स्वतन्त्र पार्टी स्याङ्जाको प्रथम जिल्ला अधिवेशन सम्पन्न, रुक्मागत भण्डारी सभापतिमा निर्वाचित

स्याङ्जा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाको प्रथम जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन गरिएको छ। अधिवेशनबाट रुक्मागत भण्डारी (विश्वास) जिल्ला सभापतिमा निर्वाचित हुनुभएको छ।

जेठ २३ गते सम्पन्न निर्वाचनको मतगणना अनुसार भण्डारीले आफ्ना निकटतम प्रतिद्वन्द्वी उपेन्द्र अर्याललाई २६० मतान्तरले पराजित गर्दै जिल्ला नेतृत्वको जिम्मेवारी प्राप्त गर्नुभएको हो। कुल ३१४ मतमध्ये भण्डारीले २८४ मत प्राप्त गर्नुभएको थियो। निर्वाचन समितिका अनुसार कुल खसेको मतमध्ये ६ मत बदर भएको थियो।

त्यसैगरी जिल्ला उपाध्यक्ष पदमा उमा फुयाल निर्वाचित हुनुभएको छ। उहाँले १४५ मत प्राप्त गर्नुभएको थियो। उपाध्यक्ष पदका अन्य प्रत्याशीमध्ये श्रीराम घिमिरेले १००, शान्ता अर्यालले ३३ तथा रामप्रसाद भुसालले २६ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन अधिकृत झविलाल डुम्रेका अनुसार अन्य पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका छन्। सचिवमा प्रशन्न पौडेल तथा सहसचिवमा टुकराज अर्याल चयन हुनुभएको छ। सदस्यहरूमा पिताकुमारी खनाल, टंकप्रसाद न्यौपाने, देवीप्रसाद रेग्मी, डोलराज लम्साल र चण्डिकाप्रसाद सापकोटा चयन हुनुभएको छ।

पार्टीको क्षेत्रीय संरचनाअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं. १ को अध्यक्षमा सूर्य पौडेल तथा क्षेत्र नं. २ को अध्यक्षमा जगदीश गैरे चयन हुनुभएको छ।

अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले संगठन सुदृढीकरण, जनसरोकारका विषयमा सक्रिय भूमिका निर्वाह तथा आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लाभर पार्टीको संगठन विस्तारलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्रथम जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएसँगै रास्वपा स्याङ्जा संगठन निर्माण, विस्तार र जनमुखी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने नयाँ यात्रामा प्रवेश गरेको पार्टीका नेता तथा कार्यकर्ताहरूले बताएका छन्। नयाँ नेतृत्वप्रति शुभकामना व्यक्त गर्दै कार्यकर्ताहरूले जिल्लामा पार्टीको उपस्थिति अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन्

गोपाल अधिकारीसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।