नेपाल पत्रकार महासंघ स्याङ्जाको १५औँ साधारणसभा भव्य रूपमा सम्पन्न, पूर्व अध्यक्षहरू सम्मानित

स्याङ्जा । नेपाल पत्रकार महासंघ स्याङ्जाको १५औँ साधारणसभा आँधीखोला गाउँपालिकामा भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। जिल्लाभित्र महासंघमा आबद्ध पत्रकारहरूको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा पत्रकारिता क्षेत्रको वर्तमान अवस्था, आगामी योजना तथा संस्थागत विकासका विषयमा व्यापक छलफल गरिएको थियो।
महासंघ स्याङ्जाका अध्यक्ष प्रदीप कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल रहनुभएको थियो। कार्यक्रममा अध्यक्ष कोइरालाले महासंघका आगामी रणनीति, कार्ययोजना तथा पत्रकार हितका कार्यक्रमहरू प्रस्तुत गर्नुभएको थियो। साधारणसभाको अवसरमा महासंघका संस्थापक तथा पूर्व अध्यक्षहरू ओमप्रकाश शर्मा, श्रीकृष्ण सिग्देल र प्रकाश डोटेललाई सम्मान गरिएको थियो। पत्रकारिता क्षेत्रको विकास, संस्थागत सुदृढीकरण तथा प्रेस स्वतन्त्रताको संरक्षणमा पुर्याउनुभएको योगदानको कदरस्वरूप उहाँहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि पौडेलले राज्यले लोकतन्त्रको चौथो अंगका रूपमा स्वीकार गरेको पत्रकारिता क्षेत्र अझै पनि पर्याप्त रूपमा सम्बोधन हुन नसकेको उल्लेख गर्नुभयो। समाज रूपान्तरण, सुशासन र जनचेतनाका लागि पत्रकारहरूले दिनरात कलम चलाइरहे पनि उनीहरूको योगदानको उचित मूल्याङ्कन हुन नसकेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो। पत्रकारहरूको पेशागत सुरक्षा, क्षमता अभिवृद्धि र सम्मानका लागि आफू सधैं सकारात्मक रहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले पत्रकार जगतलाई उच्च प्राथमिकतामा राखेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
पत्रकारिता क्षेत्रको सुदृढीकरण, अनुभव आदानप्रदान तथा भावी कार्यदिशा तय गर्ने उद्देश्यका साथ आयोजित साधारणसभा सौहार्दपूर्ण र उपलब्धिमूलक रूपमा सम्पन्न भएको महासंघले जनाएको छ।
सम्बन्धित समाचार

कृषि प्रणालीको नमुना बन्दै फेदीखोला..सफ्टवेयर उद्घाटनसँगै प्रथम मौरी दिवस भव्य रूपमा सम्पन्न

गल्याङमा कृषि बजार केन्द्र सञ्चालन, कृषकमा उत्साह

व्यवसायिक सफलताको खोजीमा दुई भाइको गन्तव्य : स्याङ्जाको वालिङमा सञ्चालनमा आयो स्केट सिटी हल
