‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ नारासहित गल्याङमा भव्य शिक्षा दिवस समारोह सम्पन्न

गल्याङ, असोज २ । गल्याङ नगरपालिकाको आयोजनामा ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने मूल नारासहित शिक्षा दिवस तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। गल्याङ नगरपालिका सिटी हलमा आयोजित कार्यक्रममा नगरप्रमुख गुरुप्रसाद भट्टराईको अध्यक्षता रहेको थियो। कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सिना, प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारी, शिक्षा शाखाका प्रमुख हिमलाल भण्डारी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा, शिक्षक, विद्यार्थी, अभिभावक तथा सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रममा गल्याङ नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका विभिन्न गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे शिक्षा शाखाका प्रमुख एवं कार्यक्रमका सञ्चालक हिमलाल भण्डारीले तथ्यांकसहित प्रस्तुति गर्नुभएको थियो। कार्यक्रममा लामो समय अध्यापन गरी अवकास प्राप्त उत्कृष्ट शिक्षकहरु , विद्यार्थी, विद्यालय तथा खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
नगरप्रमुख गुरुप्रसाद भट्टराईले पदबहाली गरेयता गल्याङ नगरपालिकाभित्र ३९९ जना शिक्षकलाई सम्मान गरिएको जानकारी कार्यक्रममा दिइएको थियो। त्यस्तै, विभिन्न तहका गरी ७८९ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्। क्याम्पस तथा कक्षा ११ र १२ तर्फ अध्ययनरत विद्यार्थीका लागि ५२ लाख रुपैयाँ छात्रवृत्ति वितरण गरिएको नगरपालिकाले जनाएको छ नगरपालिकाले हालसम्म १ हजार ९९६ जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ भने शिक्षा क्षेत्रसँग सम्बन्धित ६९ वटा कार्यक्रम सम्पन्न गरेको जनाएको छ। विद्यार्थीका विभिन्न प्रतियोगितामा प्रोत्साहनस्वरूप १३ लाख १८ हजार ६७७ रुपैयाँ नगद पुरस्कार वितरण गरिएको तथ्यांकसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो। गल्याङ नगरपालिकाले शिक्षा क्षेत्रमा वार्षिक औसत ३ करोड रुपैयाँका दरले लगानी गर्दै आएको जनाएको छ। विद्यालयको भौतिक पूर्वाधार विकासका लागि नगरपालिका तथा वडा तहबाट समेत उल्लेख्य बजेट विनियोजन हुँदै आएको कार्यक्रममा जानकारी दिइयो।
त्यसैगरी, ‘रुम टु रिड’को सहयोगमा नौवटा विद्यालयमा कक्षा १ र २ का विद्यार्थीका लागि फर्निचर व्यवस्थापन, १५ वटा विद्यालयमा कक्षा १ का लागि पुस्तकालय स्थापना तथा सबै आधारभूत विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गरिएको जानकारी दिइएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख गुरुप्रसाद भट्टराईले शिक्षा नै नगरको समग्र विकासको आधार भएको बताउँदै गुणस्तरीय, व्यवहारिक तथा प्रविधिमैत्री शिक्षामा नगरपालिकाले निरन्तर लगानी गर्ने बताउनुभयो। उहाँले शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि तथा समुदायबीचको सहकार्यबाट मात्रै शिक्षामा अपेक्षित सुधार ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो।
नगरप्रमुख भट्टराईले शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम मात्र नभई ज्ञानसँगै सीप, उद्यमशीलता, सिर्जनशीलता र मौलिकताको विकास गर्ने माध्यम बन्नुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यार्थीलाई स्थानीय आवश्यकता, स्रोतसाधन र सम्भावनासँग जोड्दै रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्न सक्ने जनशक्तिका रूपमा विकास गर्नुपर्ने बताउनुभयो।
उहाँले नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास, विद्यार्थी प्रोत्साहन तथा शिक्षक सम्मानजस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताउनुभयो। कार्यक्रममा सम्मानित शिक्षक, विद्यार्थी, विद्यालय तथा खेलाडीलाई बधाई तथा शुभकामना दिँदै आगामी दिनमा पनि शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गरिने प्रतिबद्धता व्यक्त गरिएको थियो। कार्यक्रमले गल्याङको शैक्षिक विकासमा नगरपालिका, विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा समुदायबीचको सहकार्य र साझेदारीलाई थप मजबुत बनाउने सन्देश दिएको आयोजकले जनाएको छ।
सम्बन्धित समाचार

बिपद मा रेडियोको भुमिका सुचना,समन्वय र जिवन रक्षा को बिपद संबाद सहित सामुदायिक रेडियो स्याङ्जा को १८औं बार्षिकोत्सब सम्पन्न ...

गल्याङमा सर्वपक्षीय दीप प्रज्वलन तथा शोकसभा हुने

सार्वजनिक सुनुवाइको विषयमा विवाद, वडा अध्यक्षमाथि पेट्रोलियम पदार्थ छ्यापेको आरोप...
