जननेता मदन भण्डारी र जीवराज आश्रितको ३३औँ स्मृति दिवसमा विचार गोष्ठी सम्पन्न

स्याङ्जा — जनताको बहुदलीय जनवाद (जबज) का प्रतिपादक जननेता मदन भण्डारी तथा तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३औँ स्मृति दिवसको अवसरमा नेकपा (एमाले) स्याङ्जाले विचार गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ।
“वर्तमान अवस्थामा जनताको बहुदलीय जनवादको सान्दर्भिकता” विषयक उक्त कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष चक्र पराजुलीले कार्यपत्र प्रस्तुत गर्दै वर्तमान राजनीतिक अवस्था, जनअपेक्षा तथा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको अहिलेको आवश्यकता र महत्वबारे आफ्नो धारणा राखेका थिए।
उनले लोकतान्त्रिक मूल्य–मान्यता, राष्ट्रियता, सामाजिक न्याय र जनमुखी विकासका सवालमा जबजको सिद्धान्त अझै सान्दर्भिक रहेको उल्लेख गरे। साथै बदलिँदो राजनीतिक परिवेशमा पार्टी संगठनलाई जनतासँग अझ नजिक बनाउँदै वैचारिक स्पष्टता कायम गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा एमालेका केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटी, नगर कमिटी तथा गाउँ कमिटीका अध्यक्षहरू लगायतको सहभागिता रहेको थियो। सहभागीहरूले वर्तमान राजनीतिक परिस्थिति, संगठन सुदृढीकरण, पार्टीको वैचारिक दिशा तथा आगामी रणनीतिबारे आ–आफ्ना धारणा राखेका थिए।
नेकपा (एमाले) स्याङ्जाले मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक अभ्यासमा पुर्याएको योगदानको स्मरण गर्दै उनीहरूको विचारलाई वर्तमान पुस्तासम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। कार्यक्रममा नेताहरूले मदन भण्डारी र जीवराज आश्रितको राजनीतिक योगदानको चर्चा गर्दै उनीहरूले देखाएको मार्गदर्शन आज पनि पार्टीका लागि प्रेरणाको स्रोत रहेको बताएका थिए।
सम्बन्धित समाचार

कृषि प्रणालीको नमुना बन्दै फेदीखोला..सफ्टवेयर उद्घाटनसँगै प्रथम मौरी दिवस भव्य रूपमा सम्पन्न

गल्याङमा कृषि बजार केन्द्र सञ्चालन, कृषकमा उत्साह

व्यवसायिक सफलताको खोजीमा दुई भाइको गन्तव्य : स्याङ्जाको वालिङमा सञ्चालनमा आयो स्केट सिटी हल
