गण्डकी

चापाकोटमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न, आयुष बश्याल सम्मानित

पुर्णिमा परियारसमाचार रिपोर्टर
२३ असार २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
चापाकोटमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न, आयुष बश्याल सम्मानित

स्याङ्जा, असार २१ — चापाकोट नगरपालिकाले ज्येष्ठ नागरिकप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले ज्येष्ठ नागरिक सम्मान कार्यक्रम–२०८३ सम्पन्न गरेको छ। नगर उपप्रमुख ईशा रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरप्रमुख देवबहादुर खाँण (ईश्वर) प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा नगरपालिकाभित्रका ७० बर्ष पुरा भएका ज्येष्ठ नागरिकहरूलाई सम्मानस्वरूप लौरो, छाता तथा स्वास्थ्य प्रवर्द्धनका लागि भिटामिन वितरण गरिएको थियो। प्रमुख अतिथि नगरप्रमुख खाँणले ज्येष्ठ नागरिकहरू समाजका अनुभव, ज्ञान र संस्कारका अमूल्य धरोहर भएको उल्लेख गर्दै उहाँहरूको सम्मान, स्वास्थ्य, सुरक्षा तथा सामाजिक सहभागिता सुनिश्चित गर्न नगरपालिका निरन्तर प्रतिबद्ध रहेको बताउनुभयो।

यसै अवसरमा विज्ञान, ब्रान्डिङ तथा नवप्रवर्तन आविष्कारतर्फ जिल्ला पुरस्कार विजेता चापाकोटका युवा आयुष बश्याललाई नगरपालिकाले सम्मानपत्रसहित विशेष सम्मान गरेको थियो। उहाँको उपलब्धिले चापाकोट नगरपालिकाको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा पनि प्रतिभाशाली युवाहरूलाई प्रोत्साहन गर्ने नीति र कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।

कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, ज्येष्ठ नागरिक तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले ७० बर्ष माथि का ज्येष्ठ नागरिकको सम्मानलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी व्यवहार र सामाजिक संस्कारको अभिन्न हिस्सा बनाउनुपर्नेमा जोड दिएका थिए।

पुर्णिमा परियारसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।