गण्डकी

गल्याङ नगरपालिका–२ मा सकारात्मक सोच, उद्घोषण तथा माईन्युट लेखन तालिम सम्पन्न

प्रविण अधिकारीसमाचार रिपोर्टर
१९ जेठ २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
गल्याङ नगरपालिका–२ मा सकारात्मक सोच, उद्घोषण तथा माईन्युट लेखन तालिम सम्पन्न

स्याङ्जा, गल्याङ नगरपालिका वडा नं. २ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत आयोजित दुईदिने सकारात्मक सोच, उद्घोषण तथा माईन्युट लेखन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। शिवालय आमा समूहको भवनमा सञ्चालन गरिएको तालिमले स्थानीय आमा समूह, क्लब तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

तालिमको उद्घाटन गल्याङ नगरपालिकाकी उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाले गर्नुभएको थियो भने समापन समारोहका प्रमुख अतिथि नगरप्रमुख गुरुप्रसाद भट्टराई रहनुभएको थियो। उद्घाटन तथा समापन कार्यक्रम वडा अध्यक्ष खर्गबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो।

करिब ५० जना सहभागी रहेको तालिममा प्रशिक्षक के.पी. खनाल र गोपाल अधिकारीले सकारात्मक सोचको विकास, प्रभावकारी उद्घोषण कला तथा बैठकका निर्णय र गतिविधिलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्ने माईन्युट लेखन सम्बन्धी व्यावहारिक प्रशिक्षण दिनुभएको थियो। तालिमका क्रममा सहभागीहरूलाई नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि, सार्वजनिक प्रस्तुतीकरण सीप तथा संस्थागत व्यवस्थापनका विविध पक्षबारे जानकारी प्रदान गरिएको थियो। प्रशिक्षणपछि सहभागीहरूमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास बढेको प्रतिक्रिया प्राप्त भएको आयोजकले जनाएको छ।

कार्यक्रममा जनप्रतिनिधि, सामाजिक अगुवा तथा वडाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समापन समारोहमा बोल्दै नगरप्रमुख गुरुप्रसाद भट्टराईले स्थानीय तहमा सक्षम, सचेत र नेतृत्वदायी नागरिक उत्पादनका लागि यस्ता तालिमको आवश्यकता रहेको बताउनुभयो। वडा अध्यक्ष खर्गबहादुर थापाले वडावासीको क्षमता विकास र सामाजिक सशक्तीकरणका लागि आगामी दिनमा पनि यस्ता सीपमूलक तथा चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सहभागीहरूको उत्साहजनक सहभागिता, प्रशिक्षकहरूको प्रभावकारी सहजीकरण तथा स्थानीय समुदायको सकारात्मक सहयोगका कारण तालिम भव्य र उपलब्धिमूलक रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रविण अधिकारीसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।