गण्डकी

गल्याङको जगत्रदेवी मन्दिरमा भजन–कीर्तन तथा महाआरती भव्य रूपमा सम्पन्न

गोपाल अधिकारीसमाचार रिपोर्टर
११ बैशाख २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
गल्याङको जगत्रदेवी मन्दिरमा भजन–कीर्तन तथा महाआरती भव्य रूपमा सम्पन्न

स्याङ्जा, गल्याङ — मनोकामना पूरा हुने पौराणिक जनविश्वाससँग जोडिएको वार्षिक धार्मिक कार्यक्रमअन्तर्गत यस वर्ष पनि वैशाख १० गते गल्याङ नगरपालिका–२, देवीस्थानस्थित जगत्रदेवी मन्दिरमा भजन–कीर्तन तथा सन्ध्याकालीन महाआरती भव्य रूपमा सम्पन्न भएको छ।

पौराणिक कालदेखि हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्रका रूपमा परिचित उक्त मन्दिरमा आयोजित कार्यक्रममा रुपन्देहीको बुटवलमा स्थापना भई कला तथा संस्कृतिको संरक्षणमा सक्रिय श्रीहरी भजन समूहले आकर्षक भजन–कीर्तन प्रस्तुत गरेको थियो। सन्ध्याकालीन महाआरती कार्यक्रम रुरु क्षेत्रधाम, ऋषिकेशस्थित संस्कृति संरक्षण समितिको समन्वयमा सम्पन्न भएको हो।

धार्मिक विश्वासअनुसार यहाँ आएर भाकल गर्ने तथा मनोकामना राख्ने भक्तजनहरूको इच्छा पूरा हुने जनविश्वास रहँदै आएको छ। यही आस्थाका साथ टाढाटाढाबाट आएका श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

भजन–कीर्तनका मधुर धुनमा भक्तजनहरू झुम्मिएर सहभागी भएका थिए भने सन्ध्याकालीन महाआरतीले सम्पूर्ण वातावरणलाई अझ आध्यात्मिक र भावुक बनाएको थियो।

कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूले सामाजिक एकता सुदृढ गर्न, परम्पराको संरक्षण गर्न तथा नयाँ पुस्तामा धार्मिक चेतना विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेका छन्।

यसैबीच, मन्दिर परिसरको सरसफाइ, व्यवस्थापन तथा सुरक्षा प्रबन्धमा विशेष ध्यान दिइएको आयोजकले जनाएको छ। आगामी वर्षहरूमा कार्यक्रमलाई अझ व्यवस्थित र व्यापक बनाउने लक्ष्य राखिएको समितिले जानकारी दिएको छ।

गोपाल अधिकारीसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।