स्मार्ट सिटी वालिङ मा योगध्यान शिबिर संचालन

स्मार्ट सिटी स्याङ्जाको वालिङ अहिले योगमय बनेको छ ! अब्यब्स्थित र तनाब पुर्ण जिवनशैली लाई स्वस्थ जीवनशैली र मानसिक सन्तुलनको सन्देश फैलाउने उद्देश्य सहित गण्डकी प्रदेश स्तरीय सातदिने योग शिविर तथा सह योग शिक्षक प्रशिक्षण कार्यक्रम वालिङमा सुरु भएको हो ।
“गरौं योग, रहौं निरोग” भन्ने नारा सहित वालिङ नगरपालिकाको आयोजना तथा महिला पतञ्जली योग जिल्ला समिति स्याङ्जाको संयोजनमा सञ्चालन भएको शिविरले प्रदेश भरका योग प्रेमीलाई एकै ठाउँमा जुटाएको छ । वालिङ खेलमैदानमा सुरु भएको कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै वालिङ नगरपालिका उपप्रमुख कविता गैह्रेले आधुनिक जीवनशैलीका कारण मानिसहरू विभिन्न दीर्घरोगको जोखिममा परिरहेको उल्लेख गर्दै योगलाई स्वस्थ र अनुशासित जीवनको आधारका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँले दैनिक योग अभ्यासले शरीरलाई मात्र होइन, मनलाई पनि सन्तुलित र सकारात्मक बनाउने धारणा राख्नुभयो ।
शिविरमा पतञ्जली योगपीठ हरिद्वारकी महिला योग समिति नेपालको मुख्य केन्द्रीय प्रभारी साध्वी देवादितिले मुख्य प्रशिक्षण दिइरहनुभएको छ । पतञ्जली योग नेपाल अन्तर्गत पतञ्जली योग समिति र महिला पतञ्जली योग समितिको सहकार्यमा सञ्चालन भइरहेको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधिमूलक सहभागिता रहेको छ ।
आयोजकका अनुसार बिहान ५ बजेदेखि ७ः३० बजेसम्म सर्वसाधारणका लागि निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुनेछ । त्यसपछि बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म आवासीय सह योग शिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिनेछ । प्रशिक्षणमा सहभागी हुन रु. २ हजार शुल्क निर्धारण गरिएको छ ।
तालिम पूरा गर्ने सहभागीहरूले पतञ्जली योगपीठको सदस्यता, प्रमाणपत्र तथा स्थायी परिचयपत्र प्राप्त गर्नेछन् । यसले भविष्यमा हरिद्वार स्थित पतञ्जली योगपीठका विभिन्न कार्यक्रम तथा प्रशिक्षणमा सहभागी हुने अवसर समेत प्रदान गर्ने आयोजकले जनाएको छ । सदस्यता नलिई पनि तालिममा सहभागी हुन सकिने भए पनि त्यस्ता सहभागीले प्रमाणपत्र र परिचयपत्र भने प्राप्त गर्ने छैनन् ।
स्याङ्जाका ११ वटै पालिकाबाट सहभागीहरूको उपस्थिति रहेको कार्यक्रममा गण्डकी प्रदेशका अन्य जिल्लाबाट समेत सहभागिता जनाइएको छ ।
विद्यार्थीलाई योगप्रति आकर्षित गर्न विशेष कार्यक्रमसमेत राखिएको छ । हरेक दिन बिहान १० देखि ११ बजेसम्म विद्यालयस्तरीय योग अभ्यास गराइनेछ, जसअन्तर्गत दैनिक चार विद्यालयका विद्यार्थीलाई योग शिविरमा सहभागी गराइने आयोजकले जनाएको छ ।
योगमार्फत स्वस्थ समाज निर्माण गर्ने लक्ष्यसहित सुरु भएको यो शिविरले वालिङमा स्वास्थ्य चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार

व्यवसायिक सफलताको खोजीमा दुई भाइको गन्तव्य : स्याङ्जाको वालिङमा सञ्चालनमा आयो स्केट सिटी हल

गंगालाल माविको खेल मैदानमा प्रथम चापाकोट क्रिकेट लिग टी–२० प्रतियोगिता हुने

गल्याङ क्रिकेटको दोस्रो संस्करणमा चम्किए सुमन बस्याल, ‘उदीयमान खेलाडी’ उपाधि हात पार्दै भविष्यको संकेत.....
