खेलकुद

बृहत् योग शिविर, स्वस्तिशान्ति पूजा तथा आध्यात्मिक अन्तरक्रिया कार्यक्रम सम्पन्न ‘आध्यात्मिक चापाकोट’ निर्माणको अभियानलाई थप बल

पुर्णिमा परियारसमाचार रिपोर्टर
२१ असार २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
बृहत् योग शिविर, स्वस्तिशान्ति पूजा तथा आध्यात्मिक अन्तरक्रिया कार्यक्रम सम्पन्न ‘आध्यात्मिक चापाकोट’ निर्माणको अभियानलाई थप बल

स्याङ्जा, असार २०। चापाकोट नगरपालिकाको आयोजनामा बृहत् योग शिविर, स्वस्तिशान्ति पूजा तथा आध्यात्मिक अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नगरपालिकाले स्वस्थ, अनुशासित, नैतिक तथा आध्यात्मिक समाज निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित आयोजना गरेको उक्त कार्यक्रममा नगरवासी, विभिन्न संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा धर्मप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रम चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाँण (ईश्वर) को अध्यक्षतामा सम्पन्न भएको थियो भने ब्राह्मण समाजका अध्यक्ष नारायण प्रसाद अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रमको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइराला ले गर्नुभएको थियो भने नगर उपप्रमुख ईशा राना ले स्वागत मन्तव्य व्यक्त गर्दै चापाकोट नगरपालिकाले विकाससँगै मानवीय मूल्य, संस्कार, स्वास्थ्य र आध्यात्मिक चेतनालाई समान प्राथमिकता दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

कार्यक्रममा योग, ध्यान, आध्यात्मिक जीवनशैली तथा सकारात्मक सोचका विषयमा अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले योग र ध्यानले शारीरिक स्वास्थ्य मात्र नभई मानसिक शान्ति, आत्मविश्वास तथा नैतिक आचरण विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने धारणा व्यक्त गरेका थिए।

यस अवसरमा नगरको सुख, शान्ति, समृद्धि र समग्र नागरिकको कल्याणको कामना गर्दै स्वस्तिशान्ति पूजा समेत सम्पन्न गरिएको थियो। धार्मिक तथा आध्यात्मिक वातावरणबीच सम्पन्न उक्त पूजाले सहभागीहरूमा सकारात्मक ऊर्जा र आत्मिक सन्तुष्टि प्रदान गरेको सहभागीहरूको भनाइ थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख देवबहादुर खाँण (ईश्वर) ले चापाकोटलाई पूर्वाधार विकाससँगै आध्यात्मिक, सभ्य र संस्कारित नगरका रूपमा स्थापित गर्ने नगरपालिकाको लक्ष्य रहेको बताउनुभयो। उहाँले योग, ध्यान र आध्यात्मिक चेतनाले समाजमा अनुशासन, सद्भाव, सहिष्णुता तथा नैतिक मूल्य अभिवृद्धि गर्ने भएकाले यस्ता कार्यक्रमले नगरवासीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख अतिथि नारायण प्रसाद अधिकारी ले आधुनिक जीवनशैलीका कारण बढ्दै गएको मानसिक तनाव र सामाजिक विकृतिलाई न्यूनीकरण गर्न योग, ध्यान र आध्यात्मिक अभ्यास प्रभावकारी माध्यम भएको उल्लेख गर्दै स्थानीय तहले यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्नु प्रशंसनीय कदम भएको बताउनुभयो।

नगरपालिकाका अनुसार कार्यक्रमको मूल उद्देश्य ‘आध्यात्मिक चापाकोट नगरपालिका’ निर्माण गर्ने अभियानलाई संस्थागत रूपमा अगाडि बढाउनु, नागरिकमा नैतिकता, अनुशासन, सकारात्मक सोच तथा आध्यात्मिक चेतनाको विकास गर्नु रहेको छ।

कार्यक्रमको समापनसँगै सहभागीहरूले यस्ता आध्यात्मिक, योग तथा सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए। नगरपालिकाले पनि नागरिकको स्वास्थ्य, सामाजिक सद्भाव र आध्यात्मिक विकासलाई केन्द्रमा राखेर यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ व्यापक रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

पुर्णिमा परियारसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।