स्याङ्जाको किसान बहुप्राविधिक शिक्षालय चापाकोटमा ३ दिने रोबर्ट निर्माण तालिम सम्पन्न

स्याङ्जा — चापाकोट नगरपालिका–१० स्थित किसान बहुप्राविधिक शिक्षालयमा तीन दिने रोबर्ट निर्माण तालिम सम्पन्न भएको छ। शिक्षालयमा अध्ययनरत डिप्लोमा इन इन्फर्मेशन टेक्नोलोजी छैटौँ सेमेस्टरका २५ जना विद्यार्थीहरूको सहभागितामा सञ्चालन गरिएको तालिम उत्साहपूर्वक सम्पन्न गरिएको हो।
ट्रिलिङ आईटी सोलुसनका सीईओ तथा इन्जिनियर सुजन कार्कीले प्रशिक्षण प्रदान गर्नुभएको उक्त तालिममा विद्यार्थीहरूले आधुनिक प्रविधिसम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेका थिए। तालिम अवधिभर विभिन्न रोबोटिक प्रणाली निर्माण तथा परीक्षणसम्बन्धी अभ्यास गराइएको थियो।
समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै चापाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले यस्ता तालिमले विद्यार्थीहरूको सिकाइ क्षमता, सिर्जनशीलता र आत्मविश्वास वृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले प्रविधिमैत्री गतिविधिले चापाकोटको शैक्षिक गरिमा समेत बढाएको उल्लेख गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथि चापाकोट नगर शिक्षा शाखा प्रमुख इन्दु भेटुवालसहित नगरका जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले विद्यार्थीहरूले तयार गरेका परियोजनाहरूको अवलोकन समेत गरेका थिए।
तालिमका क्रममा विद्यार्थीहरूले ब्लाइन्ड स्टिक, रिमोट कन्ट्रोल कार तथा अव्स्टेकल एभोइडिङ कार गरी तीन वटा फरक–फरक परियोजना निर्माण गरी सफल प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको सिर्जनात्मक प्रस्तुति र प्रविधिप्रतिको उत्साहले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
कार्यक्रमको अध्यक्षता गर्दै शिक्षालय प्रमुख शिव पाण्डेले विद्यार्थीहरूको क्षमता अभिवृद्धि तथा व्यवहारिक शिक्षालाई प्रवर्द्धन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताउनुभयो। उहाँले विज्ञान तथा प्रविधिसँग जोडिएका यस्ता गतिविधिले वर्तमान समयका चुनौती सामना गर्न विद्यार्थीलाई सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो।
सम्बन्धित समाचार

कृषि प्रणालीको नमुना बन्दै फेदीखोला..सफ्टवेयर उद्घाटनसँगै प्रथम मौरी दिवस भव्य रूपमा सम्पन्न

गल्याङमा कृषि बजार केन्द्र सञ्चालन, कृषकमा उत्साह

वैशाख २ मा समापन भनिएको वालिङ एक्स्पो अब वैशाख ५ गतेसम्म...
