लायन्स क्लब अफ गल्याङ सिटीद्वारा वृक्षारोपण, रजत पदक विजेता कराते खेलाडी ओमराज पौडेल सम्मानित

स्याङ्जा, गल्याङ। लायन्स क्लब अफ गल्याङ सिटीको लायन वर्ष २०२६/२०२७ को वार्षिक कार्यक्रमअन्तर्गत गल्याङ नगरपालिका परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
क्लबका अध्यक्ष लायन सूर्यप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा क्लबका पूर्वअध्यक्ष, सदस्य, वर्तमान कार्यसमितिका पदाधिकारी, स्थानीय बुद्धिजीवी, समाजसेवी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा प्रमुख अतिथि गुरु प्रसाद भट्टराईले वृक्षारोपण केवल बिरुवा रोप्ने कार्य मात्र नभई भावी पुस्ताप्रतिको दायित्व र वातावरण संरक्षणको साझा अभियान भएको बताउनुभयो। उहाँले हरियाली प्रवर्द्धन, स्वच्छ वातावरण निर्माण तथा जलवायु परिवर्तनका चुनौती न्यूनीकरणमा यस्ता सामाजिक अभियानले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै लायन्स क्लबले समाज सेवासँगै वातावरण संरक्षणमा देखाएको सक्रियताको प्रशंसा गर्नुभयो। आगामी दिनमा पनि यस्ता रचनात्मक तथा जनहितका कार्यक्रमलाई नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमकै अवसरमा बंगलादेशमा सम्पन्न १०औँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा नेपालका लागि रजत पदक जित्न सफल गल्याङका प्रतिभाशाली कराते खेलाडी ओमराज पौडेल तथा कराते प्रशिक्षक छबिलाल गाहालाई सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूको योगदानले गल्याङको गौरव बढाएको भन्दै सहभागीहरूले बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
वातावरण संरक्षण र खेलकुद प्रतिभाको सम्मानलाई एकै कार्यक्रममा जोडेर आयोजना गरिएको उक्त कार्यक्रमले सामाजिक उत्तरदायित्व, खेलकुद प्रवर्द्धन तथा समुदायबीच सहकार्यको सन्देश दिएको सहभागीहरूले बताएका छन्। लायन्स क्लब अफ गल्याङ सिटीले आगामी दिनमा पनि यस्ता समाजमुखी तथा जनहितका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।



