कृषि पर्यटन

कृषि प्रणालीको नमुना बन्दै फेदीखोला..सफ्टवेयर उद्घाटनसँगै प्रथम मौरी दिवस भव्य रूपमा सम्पन्न 

गोपाल अधिकारीसमाचार रिपोर्टर
५ असार २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
 कृषि प्रणालीको नमुना बन्दै फेदीखोला..सफ्टवेयर उद्घाटनसँगै प्रथम मौरी दिवस भव्य रूपमा सम्पन्न 

स्याङ्जा, फेदीखोला । कृषिलाई आधुनिक प्रविधिसँग जोड्दै मौरीपालन क्षेत्रको व्यवस्थित विकासतर्फ अग्रसर फेदीखोला गाउँपालिकाले मौरीपालन अनुगमन सफ्टवेयरको उद्घाटन गर्दै प्रथम मौरी दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कृषि, प्रविधि र उत्पादन व्यवस्थापनलाई एकीकृत गर्ने गाउँपालिकाको यो पहल ग्रामीण कृषि विकासको उदाहरणीय अभ्यासका रूपमा स्थापित हुँदै गएको छ।

गाउँपालिकाले मौरीपालनलाई केवल आयआर्जनको माध्यमका रूपमा नभई कृषि उत्पादन वृद्धि, वातावरणीय सन्तुलन तथा जैविक विविधता संरक्षणसँग जोडेर अघि बढाएको छ। मौरीले बाली तथा फलफूलमा परागसेचन बढाई उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले गाउँपालिकाले मौरीमैत्री कृषि प्रणालीलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो।

कार्यक्रमका अवसरमा मौरीपालन अनुगमन प्रणालीसम्बन्धी सफ्टवेयर सार्वजनिक गरिएको थियो। अध्यक्ष सुवेदीका अनुसार उक्त सफ्टवेयरमार्फत मौरीपालक कृषकहरूको सूचीकरण, घार तथा गोला वितरणको विवरण, फलफूलका बिरुवा वितरण, उत्पादनको अवस्था तथा अनुदानबाट प्राप्त उपलब्धिको तथ्याङ्क व्यवस्थित रूपमा अभिलेखीकरण गर्न सकिनेछ। यसले अनुदानको दुरुपयोग रोक्न, पारदर्शिता कायम गर्न तथा कृषि कार्यक्रमलाई नतिजामुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा भूमि सेवा नेटवर्कका म्यानेजिङ डाइरेक्टर मदन पौडेलले नेपालमै पहिलोपटक मौरीपालन अनुगमन प्रणालीको सफ्टवेयर फेदीखोला गाउँपालिकाबाट सुरु गरिएको जानकारी दिनुभयो। उहाँले यस अभ्यासलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारी भइरहेको बताउँदै डिजिटल प्रविधिको प्रयोगले कृषि क्षेत्रको योजना निर्माण, अनुगमन र मूल्याङ्कनलाई थप प्रभावकारी बनाउने धारणा राख्नुभयो।

मौरी दिवसको अवसरमा गाउँपालिकाले सञ्चालन गरेका विभिन्न तालिममा सहभागी कृषकहरूलाई सम्मानस्वरूप प्रमाणपत्र वितरण गरिएको थियो। आईपीएम कृषक पाठशाला, ग्राफ्टिङ तालिम, रानी मह उत्पादन तथा आधारभूत मौरीपालन तालिममा सहभागी गरी विभिन्न विधामा उत्कृष्ट ११० जना कृषकलाई प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

त्यसैगरी, आधारभूत मौरीपालन तालिम प्राप्त गरेका २० जना कृषकलाई प्रतिव्यक्ति दुईवटा दरले ४० वटा मौरीघार वितरण गरिएको छ। आईपीएम कृषक पाठशालामा सहभागी कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ६४ वटा मौरीघार उपलब्ध गराइएको छ। यसबाट व्यावसायिक मौरीपालन प्रवर्द्धन हुनुका साथै कृषि उत्पादन र कृषकको आम्दानी वृद्धि हुने अपेक्षा गरिएको छ।

कार्यक्रमको अर्को आकर्षणका रूपमा सेरेना मौरी मह प्रदर्शनी, स्थानीयस्तरमा उत्पादित तरकारी तथा कृषि उपजको प्रदर्शनी तथा बिक्री वितरण गरिएको थियो। स्थानीय कृषकले उत्पादन गरेका वस्तुको प्रदर्शनीले उत्पादन र बजारीकरणबीचको सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ थियो। मौरीपालन, फलफूल खेती, तरकारी उत्पादन तथा आधुनिक प्रविधिलाई एउटै कृषि चक्रमा जोड्दै फेदीखोला गाउँपालिकाले अवलम्बन गरेको कृषि प्रणाली अहिले अन्य स्थानीय तहका लागि समेत अध्ययनयोग्य अभ्यास बन्दै गएको छ। डिजिटल प्रविधिको प्रयोग, लक्षित अनुदान वितरण, कृषकको तथ्याङ्क व्यवस्थापन तथा उत्पादनमुखी कार्यक्रममार्फत गाउँपालिकाले ग्रामीण कृषि विकासको नयाँ मोडल प्रस्तुत गरेको छ।

प्रथम मौरी दिवसका अवसरमा सार्वजनिक गरिएको यो पहलले फेदीखोला गाउँपालिकालाई मौरीमैत्री तथा प्रविधिमैत्री कृषि प्रणालीको अग्रणी स्थानीय तहका रूपमा स्थापित गरेको छ।

गोपाल अधिकारीसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।