आँधिखोला हाई ड्यामको मुद्दा संसद्सम्म पुर्याउन गल्याङमा युवाहरूको पहल

गल्याङ, स्याङ्जा। आधिखोला हाई ड्याम आयोजनाको विषयलाई एकपटक फेरि सशक्त रूपमा उठाउँदै संसद्सम्म आवाज पुर्याउने उद्देश्यले स्याङ्जाको गल्याङमा स्थानीय युवा तथा सरोकारवालाहरूको प्रारम्भिक भेला सम्पन्न भएको छ।
गल्याङ नगरपालिका–३, तल्लो गल्याङस्थित मगर भवन मा सम्पन्न भेलामा नगरप्रमुख गुरु प्रसाद भट्टराईसहित स्थानीय युवा, समाजसेवी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। भेलामा वर्षौंदेखि चर्चामा रहेको आँधिखोला हाई ड्याम आयोजनाको सम्भावना, यसमा राज्यले गरेको लगानी, स्थानीयको अपेक्षा र आयोजनालाई निष्कर्षमा पुर्याउन आवश्यक पहलका विषयमा छलफल गरिएको थियो।
छलफलका क्रममा युवाहरूले दशकौँदेखि चर्चामा रहेको आयोजनाका लागि राज्यले पटक–पटक अध्ययन, अनुसन्धान तथा सर्वेक्षणका नाममा लगानी गर्दै आएको भए पनि यसको स्पष्ट निष्कर्ष नआउनु दुःखद भएको धारणा राखे। आयोजनाको सम्भाव्यता अध्ययन र राज्यको लगानीको अभिलेखबारे स्पष्टता खोज्दै अब यस विषयलाई अनिर्णयको अवस्थामा राख्न नहुने उनीहरूको भनाइ थियो।
संघीय तथा स्थानीय निर्वाचनका बेला चुनावी नाराका रूपमा उठ्ने गरेको आधीखोला हाई ड्यामको मुद्दा निर्वाचन सकिएपछि ओझेलमा पर्ने गरेको भन्दै युवाहरूले यसपटक भने आयोजनालाई सार्थक निष्कर्षमा पुर्याउन निरन्तर दबाब सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। स्थानीय सरकारलाई अभिभावकीय भूमिका निर्वाह गर्दै सम्बन्धित निकायसँग समन्वय गरी आयोजनाको भविष्य टुङ्गोमा पुर्याउन उनीहरूले आग्रह गरेका छन्।
आयोजना निर्माण हुन सके स्थानीय क्षेत्रमा रोजगारी सिर्जना, आर्थिक गतिविधिमा वृद्धि तथा समग्र विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ। हिमशृङ्खलासँग प्रत्यक्ष रूपमा नजोडिएको र पछिल्लो समय यस आयोजनाको सम्भावनाबारे सकारात्मक रूपमा अध्ययन गर्न सकिने आधार रहेको विषयसमेत छलफलमा उठाइएको थियो।
सम्बन्धित समाचार

हरित अभियानमार्फत ६९ सदस्यलाई फलफूलका बिरुवा वितरण

लायन्स क्लब अफ गल्याङ सिटीद्वारा वृक्षारोपण, रजत पदक विजेता कराते खेलाडी ओमराज पौडेल सम्मानित

मिर्सा होमस्टे : गाउँमा नयाँ आशा
