पाकिस्तानमा २०० वर्ष पुरानो रामलीला मन्दिर भत्काउन खोजिएको भन्दै विश्व हिन्दु परिषद् नेपालको आपत्ति...

काठमाडौँ । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा रहेको करिब २०० वर्ष पुरानो ऐतिहासिक रामलीला मन्दिर भत्काएर सपिङ प्लाजा निर्माण गर्न खोजिएको घटनाप्रति विश्व हिन्दु परिषद् नेपालले कडा आपत्ति जनाएको छ।
परिषद्अन्तर्गतको मठ–मन्दिर, अर्चक तथा पुरोहित विभागले प्रेस विज्ञप्ति जारी गर्दै धार्मिक तथा सांस्कृतिक सम्पदामाथि भएको भनिएको हस्तक्षेपको भर्त्सना गरेको हो। विभागका राष्ट्रिय अध्यक्ष दीपक आचार्यद्वारा जारी विज्ञप्तिमा रहिम बजार क्षेत्रमा रहेको ऐतिहासिक मन्दिरलाई व्यापारिक स्वार्थका लागि भत्काउन खोज्नु धार्मिक अल्पसङ्ख्यकको अधिकार र सांस्कृतिक सम्पदामाथिको प्रहार भएको उल्लेख गरिएको छ।
स्थानीय हिन्दु समुदाय तथा नागरिक समाजका अभियन्ताहरूको विरोधपछि स्थानीय प्रशासनले मन्दिर भत्काउने कार्य रोकेको र उक्त स्थललाई सिल गरी सरकारी निकाय इभाकुई ट्रस्ट प्रपर्टी बोर्ड (ETPB) को नियन्त्रणमा राखेको विज्ञप्तिमा जनाइएको छ। परिषद्ले यो कदमलाई पर्याप्त नभएको भन्दै घटनामा संलग्न दोषीमाथि कारबाही गर्न र मन्दिरको पूर्ण जीर्णोद्धार गर्न माग गरेको छ।
परिषद्ले पाकिस्तानमा मात्र नभई बंगलादेश, अस्ट्रेलिया, क्यानडा र अमेरिकालगायतका देशमा पनि हिन्दु मठमन्दिर तथा धार्मिक सम्पदामाथि तोडफोड र क्षति पुर्याइएका घटनाप्रति चिन्ता व्यक्त गरेको छ। यस्ता गतिविधिले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र धार्मिक स्वतन्त्रतामाथि प्रश्न उठाउने परिषद्को भनाइ छ।
अध्यक्ष आचार्यले मन्दिरहरू धार्मिक आस्थाका केन्द्र मात्र नभई इतिहास, संस्कृति र सभ्यताका अमूल्य धरोहरसमेत भएको उल्लेख गर्दै तिनको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ।
परिषद्ले पाकिस्तान सरकार, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था तथा संयुक्त राष्ट्रसंघको ध्यानाकर्षण गराउँदै ऐतिहासिक रामलीला मन्दिरको संरक्षण, दोषीमाथि कानुनी कारबाही र विश्वभरका धार्मिक सम्पदाको सुरक्षाका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।
साथै, धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षणका लागि विश्वभरका हिन्दु समुदाय र सरोकारवालालाई एकजुट भएर आवाज उठाउन परिषद्ले अपिल गरेको छ।
सम्बन्धित समाचार

लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन (LCIF) द्वारा १५ हजार अमेरिकी डलर राहत स्वीकृत...

एआई सुरक्षाका लागि सँगै काम गर्दै OpenAI, Anthropic र Google, के हुँदैछ छलफल ?

दक्षिण कोरियामा स्याङ्जाली एकताको नयाँ नेतृत्व : स्याङ्जा समाजको अध्यक्षमा गल्याङका माधव अर्याल
