गल्याङ को कराँते उत्पादन अन्तररास्ट्रीय मन्च मा प्रतिस्पर्दा गर्दै

गल्याङ, स्याङ्जा — “गल्याङको उत्पादन, गल्याङदेखि अन्तर्राष्ट्रिय मञ्चसम्म” भन्ने नारालाई सार्थक बनाउँदै गल्याङ नगरपालिकाका होनहार कराते खेलाडी ओमराज पौडेल ले नेपालको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्दै १०औँ दक्षिण एसियाली कराते च्याम्पियनसिप (SAKF) मा सहभागिता जनाउने भएका छन्।
बंगलादेशको ढाका मा जुलाई १५ देखि १९ गतेसम्म आयोजना हुने यस प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा दक्षिण एसियाका नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्स लगायत ७ राष्ट्रका उत्कृष्ट कराते खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ। उक्त प्रतियोगितामा ७६ केजी तौल समूह अन्तर्गत गल्याङ नगरपालिकाका प्रतिभाशाली खेलाडी ओमराज पौडेल ले नेपालको राष्ट्रिय झण्डा बोकेर अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्नेछन्।
ओमराजको यो सहभागिता केवल व्यक्तिगत उपलब्धि मात्र नभई गल्याङ नगरपालिकाको खेलकुद विकास, यहाँका युवाको अथक मेहनत र स्थानीय प्रतिभाको अन्तर्राष्ट्रिय पहिचानको प्रतीक पनि हो। उहाँको सफलताले गल्याङका अन्य युवा खेलाडीहरूलाई समेत प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।
गल्याङ नगरपालिका परिवारले खेलाडी ओमराज पौडेल लाई यस ऐतिहासिक अवसरका लागि हार्दिक बधाई व्यक्त गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शनसहित स्वर्ण पदकसहित देश र गल्याङको नाम अझ उच्च बनाउन सफल रहून् भन्ने शुभकामना व्यक्त गरेको छ। साथै, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव बढाउने उहाँको यात्राले सम्पूर्ण गल्याङवासीलाई गर्वको अनुभूति गराएको नगरपालिकाले जनाएको छ।
